नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते
काठमाडौं । संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण यही चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी गरेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदहरूको शपथ ग्रहणअगाडि ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइने छ। संवैधानिक व्यवस्थाअनुसार त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने छ।
आज संसदीय सचिवालयमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलपछि शपथ ग्रहण्को उक्त मिति टुंगो लागेको हो । संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ।
सचिवालयले बिहीबारदेखि राजनीतिक दलहरूलाई कार्यालय उपलब्ध गराएको प्रवक्ता एकराम गिरीले जानकारी दिए। संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिएपनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको उनले बताए। उनले दलका प्रतिनिधिहरूलाई कार्यलयको प्रत्यक्ष अवलोकन गराइएको जानकारी दिए।
उनकाअनुसार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ। यस्तै, अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ।
