रास्वपाको अभिमुखीकरण कार्यक्रममा क-कस्ले के-के बाले ? कुरा आयो प्रमाणको !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।

पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहमा उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताए ।

“नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ, लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ”, उनले भने ।

सोही पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वासलाई जोगाएर जनताको भरोसालाई कायम राख्नु पर्नेमा जोड दिए । “वाचापत्रको मुख्य नारा थिति बसाल्ने छ, यसलाई काम गरेरै देखाउनुपर्ने छ, जनताले गर्न सक्नेगरी जिम्मेवारी दिएका छन्, हामीले इमानदारीपूर्वक काम गरेर देखाउनुपर्छ”, उनले भने ।

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलत कार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गरे ।

संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिकालगायतका विषयबारे अभिमुखीकरण गराउन सो कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । पहिलो दिनको अभिमुखीकरणमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहबाहेक अधिकांश सांसद उपस्थित छन् ।

आज प्रतिनिधिसभाका पूर्वसचिव सुरेश अधिकारीले संसदीय मूल्यमान्यताका विषयमा क्लास लिएका थिए । त्यस क्रममा गोर्खा १ बाट निर्वाचित सांसद सुधन गुरुङले एउटा प्रश्न राखे जुन कांग्रेस सभापति गगन थापाप्रति लक्षित थियो । गुरुङले सोधे, ‘संसदभित्र कुनै पनि सांसदले बिना प्रमाण आफूसित ‘प्रमाण छ’ भनेर बोल्न पाइन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर