समानुपातिक सांसद छान्न रास्वपा, एमाले र कांग्रेस पार्टीको बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सीट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउनेबारे छलफल हुने उनले बताए।
यसैगरी नेकपा एमालेको सचिवालय बैठक जारी छ। बाबुको शोकमा रहेका एमाले अध्यक्ष केपी ओलीले गुण्डुमा बाेलाएकाे बैठक अहिले बसिरहेको छ। बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउने तयारी छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको बैठक भोलि बस्ने तय भएको प्रवक्ता मनिष झाले बताए। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिसलगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नेछ।
