स्ट्रेट अफ होर्मुजमा भारत आउँदै गरेको जहाजमाथि आक्रमण

काठमाडौं । विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधवार भएका शृङ्खलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि परेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ । थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो ।

यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।

होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर जहाज चल्नसक्ने बाटो ११ किलोमिटर मात्र छ । बाँकी हिस्सामा कम गहिराइ भएकाले ठूला जहाज चल्न सक्दैनन् । त्यसैले यो साँघुरो बाटो खतरनाक मानिन्छ । अन्य देशहरुले जस्तै भारतले पनि आफ्नो आवश्यकताको ठुलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सबाट यही स्ट्रेट अफ होर्मुजको बाटो हुँदै आयात गर्दछ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाको बदलामा इरानले पनि अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी राखेको छ । इरानले तेल आपूर्तिको बाटो बन्द गर्ने चेतावनी दिएपछि होर्मुज स्ट्रेटमा पनि आक्रमण तीव्र बनेको छ । यसबाट विश्वभर तेल र ग्यास आपूर्ति प्रभावित भएको छ ।

पछिल्लो ७२ घण्टामा होर्मुज स्ट्रेटको समुद्री बाटो हुँदै २ वटा अन्तर्राष्ट्रिय ट्यांकर मात्र पार हुन सकेका छन् । थप आक्रमणको त्रासका कारण ठुला सिपिङ कम्पनीहरूले होर्मुज स्ट्रेटको बाटो प्रयोग गर्न छाडेका हुन् ।

सीमित मात्र जहाज चलिरहेको र ती पनि आक्रमणको निशानामा परेपछि आपूर्ति थप प्रभावित भएको छ । गुजरात आउँदै गरेको जहाजमा आक्रमण भएपछि भारत सरकारले निन्दा गरेको छ । होर्मुज स्ट्रेटको विकल्पमा भारतीय बन्दरगाहका लागि आउने जहाजहरू अफ्रिकाको बाटो हुँदै घुमेर आउनुपर्ने र यो वैकल्पिक मार्ग प्रयोग गर्दा भारत यात्रा करिब २ हप्ता बढी समय लाग्ने बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर