१७ भोटका लागि १२ प्लेट मम र १० प्लेट चाउमिनलगायतका खर्च !
काठमाडौं । प्रतिनिधिसभाका उम्मेदवारहरूले निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन आयोगमा धमाधम बुझाएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरूलाई खर्चको सीमा तोकेको थियो ।
यसैबीच सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रक्षकुमार राइले खर्च विवरण बुझाएका छन् । मितेरी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका राईले चुनावमा ४० हजार ७४० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।
उनले चाउमिन १० प्लेट, मम १२ प्लेट, पानी १ वटा, कोक ५ वटा स्टिम मम २० वटा जुस १० वटा खाना १०० वटा र पेट्रोल ५० लिटर बराबरको उक्त रकम खर्च भएको विवरण बुझाएका छन् ।
उनी उम्मेदवार रहेको सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । उनले ३५ हजार ७४१ भोट ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रास्वपा गोपाल तामाङले २७ हजार २४९ मत पाए । निर्वाचनमा ४० हजार ७४० रुपैयाँ खर्च गरेका रक्षकुमारले भने १७ भोट मात्र पाएका छन् ।
