मोदीको रवि र बालेनसँगको टेलिफोन संवादको अर्थ खोजिँदै
काठमाडौं । नेपालको चुनावी नतिजापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेतृत्वसँग टेलिफोन संवाद गरेका छन् । हिजो सोमबार रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँगको कुराकानीपछि प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वीट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले एक्समा ट्वीट गर्दै दुवै नेताहरूसँगको कुराकानी सौहार्दपूर्ण रहेको बताएका छन् । निर्वाचनमा रास्वपाले प्राप्त गरेको ‘शानदार सफलता’ र दुवै नेताहरूको जितप्रति खुसी व्यक्त गर्दै मोदीले नेपालको आगामी नयाँ सरकारको कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।
नेपाली भाषामै गरिएको ट्वीटमा मोदीले लेखेका छन्, ‘वहाँहरूको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ । वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ ।’
संवादका क्रममा प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको पुरानो सम्बन्धलाई थप मजबुत बनाउन नयाँ शक्तिहरूसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको उल्लेख छ । उनले अगाडि लेखेका छन्, ‘हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’
