कांग्रेसका राई र रास्वपाका गुरु विजयी
काठमाडौं । इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी हुनुभएको छ । राईले १४५४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ्ग लिम्बुले १३६३२ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राई नेपाली काँग्रेस भित्रका युवा पुस्ताका नेता हुनुहुन्छ । ३५ बर्षीय राई नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको हो । शंकरदेव क्याम्पसमा विद्यार्थीहरुमाझ निकै लोकप्रिय रहनुभएका राई हाल इलामको क्षेत्रीय सभापति समेत हुनुहुन्छ ।
यसैगरी गोरखा-१ बाट रास्वपाका सुधन गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङ २९८९६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५३९८ मत प्राप्त गर्नुभयो ।
विक्रम संवत् २०४४ असार २५ गते गोरखा, चुमनुव्री गाउँपालिका, सिर्दिबासमा जन्मिनुभएका गुरुङ जेन्जी आन्दोलनपछि चर्चामा आउनु भएको हो। त्यसअघि गुरुङ ‘हामी नेपाल’ नामक संस्था खोलेर भूकम्प लगायतका विभिन्न विपद्को घटनामा राहत र उद्धारको काममा सक्रिय हुनुहुन्थ्यो ।
जेनजी आन्दोलनमा सुशीला कार्की सरकार गठन सरकार जेन-जी आन्दोलन सहमति निर्माणमा नेतृत्वदायी भूमिका खेल्नु भएका गुरुङ प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुनुभन्दा केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नु भएको थियो।
आफु पार्टी प्रवेश गरेसँगै गुरुङ काठमाडौँ महानगरपालिकाका तत्कालिन मेयर बालेन शाह र रवि लामिछाने तथा कुलमान घिसिङ्गको सहकार्य र एकतामा दबाव दिँदै सुधार अभियानमा लाग्नु भएको थियो । उहाँकै पहलमा भएको रवि र बालेनको एकता कायम भयो भने कुलमानको एकता टिक्न सकेन । गुरुङ उमेरले ३८ बर्ष भएपनि युवापुस्ता माझ निकै लोकप्रिय हुनुहुन्छ।
जेन-जी आन्दोलनलाई सहयोग गर्दै आन्दोलनको रापतापबाट निस्किएको नेतृत्वको रूपमा उहाँलाई लिइन्छ। पुरानो राजनीतिक ‘सेटअप’लाई सिधै चुनौती दिने नयाँ पुस्ताको आशाको अनुहारको रूपमा सुधनलाई चिनिन्छ । हक्की स्वभावका गुरुङ समाज सेवा र अन्याय विरुद्ध विद्रोह गर्न सक्ने उदयीमान युवा नेताको रुपमा अगाडि बढ्नुभएको छ ।।
