भोलि बिहीबार मुलुकभर वर्षा नहुने, मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन भोलि (बिहीबार) मौसम सफा रहने जनाएको छ । विभागले आज बुधबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो ।
महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिए ।
“निर्वाचनको दिन देशभर मौसम सफा रहने छ, हामीले निर्वाचन आयोगका प्रतिनिधिलाई पनि मौसमसम्बन्धी जानकारी दिँदै आइरहेका छौँ”, उनले भने ।
पौडेलका अनुसार शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । विभागका अनुसार आज कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका एकरदुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । मधेस प्रदेशसहित तराईका भू(भागमा सामान्यतया सफा मौसम रहने जनाइएको छ ।
“बिहीबार देशका अधिकांश भू(भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछन् । उल्लेखनीय वर्षा प्रणाली सक्रिय नदेखिएकाले भारी वर्षाको सम्भावना छैन”, महाचशाखाद्वारा जारी विशेष बुलेटिनमा उल्लेख छ, “शुक्रबार कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ । तराई क्षेत्रका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।”
महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ । आवश्यकताअनुसार बुलेटिन अद्यावधिक गरिने उल्लेख गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अद्यावधिक मौसम सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।
