इरान, अमेरिका र इजराइल युद्ध लम्बिने संकेत, कच्चा तेलको मूल्यमा भारी वृद्धि

काठमाडौं । अमेरिका र इजराइलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेपछि त्यसको प्रत्याक्रमणमा इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मध्यम दूरीका सयौं क्षेप्यास्त्र प्रहार गरी क्षति पुर्‍याएका छन् ।

इजराइलले खमेनीसहित थुप्रै वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरू मारिएको दाबी गरेको छ । अहिले दुवै पक्षबीच हवाई र मिसाइल आक्रमण जारी छ । इरानले इजराइल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई पनि निशाना बनाइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम र क्षेत्रीय प्रभावलाई कारण देखाए पनि विश्लेषकहरूका अनुसार इरान अहिले कमजोर अवस्थामा रहेको मौका छोपेर आक्रमण गरिएको हो । लेबनानको हिज्बोल्लाह, गजाको हमास र यमनको हुथीजस्ता समूहमार्फत इरानले बनाएको ‘एक्सिस अफ रेसिस्टेन्स’ पछिल्ला वर्षहरूमा कमजोर बनेको थियो ।

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लामो समयदेखि अमेरिकालाई इरानविरुद्ध कडा कदम चाल्न आग्रह गर्दै आएका थिए । साउदी अरेबियाले सार्वजनिक रूपमा संयमको अपिल गरे पनि भित्री रूपमा आक्रमणलाई समर्थन गरेको रिपोर्टहरूमा उल्लेख छ । आक्रमणपछि इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ । जहाँबाट विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुन्छ । यसले विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतसम्म वृद्धि भएको छ ।

युद्ध लामो समयसम्म तन्किन दुवै पक्षका लागि महँगो पर्ने देखिए पनि इरानको आन्तरिक राजनीतिक भविष्य, नयाँ नेतृत्वको चयन र सम्भावित सत्ता परिवर्तनबारे अनिश्चितता बढेको छ । अबको अवस्था युद्धको तीव्रता, अन्तर्राष्ट्रिय दबाब र इरानभित्रको शक्ति सन्तुलनले निर्धारण गर्नेछ ।

कुवेतमा अमेरिकी लडाकु जहाज खसालियो

यसै तनावपूर्ण वातावरणबीच सोमबार बिहान कुवेतमा धेरै अमेरिकी लडाकु विमानहरू जमिनमा खसेका छन्। कुवेतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार विमानमा रहेका चालक दलका सदस्यहरू सुरक्षित छन्। उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको छ। मन्त्रालयले भनेको छ, “हामी हाम्रा अमेरिकी सहयोगीहरूसँग घटनाको परिस्थिति र कारणबारे निरन्तर संवादमा छौँ, यसबारे थप अनुसन्धान जारी छ।”

यसैबीच, कुवेतस्थित अमेरिकी दूतावास परिसर वा त्यसको आसपासबाट धुवाँको मुस्लो देखिएको समाचार एजेन्सी एएफपी र रोयटर्सले जनाएका छन्। दूतावासले आफ्ना नागरिकहरूका लागि आकस्मिक सुरक्षा ‘अलर्ट’ जारी गर्दै सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ।

कुवेतस्थित अमेरिकी राजदूतावासको पृष्ठभूमिमा धुँवाको मुस्लो देखिन्छ। दूतावासको आधिकारिक वेबसाइटमा जारी गरिएको चेतावनीपूर्ण सन्देशमा भनिएको छ, “दूतावास नआउनुहोस् । आफ्नो घरको सबैभन्दा तल्लो तलामा बस्नुहोस्, झ्यालहरूबाट टाढा रहनुहोस् र बाहिर ननिस्कनुहोस्।” अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई सम्भावित थप आक्रमणहरूका लागि तयार रहन र सुरक्षा योजना बनाउन समेत आग्रह गरेका छन्। दूतावासले आफ्ना कर्मचारीहरू ‘आफ्नो स्थानमा सुरक्षित रहेको’स्पष्ट पारेको छ।

इरानमाथि शनिबार भएको आक्रमणमा अमेरिकाको संलग्नता पुष्टि भएसँगै इरान समर्थित समूहहरूले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र दूतावासहरूलाई निशाना बनाउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ। खामेनीको मृत्युपछि इरानले लिने ‘कडा बदला’ को नीतिका कारण यो क्षेत्र थप अस्थिर बन्ने निश्चित देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर