तीन प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका केही पहाडी र हिमाली भू-भागमा सामान्य मौसम बद्ली हुने देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू-भागमा आंशिक बदली हुनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका साथै बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राती तराईका थोरै स्थानहरूमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। राती पनि कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
