ओली र गगन थापाद्वारा मध्यपूर्व तनावप्रति चिन्ता व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षा थप संवेदनशील बनेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो।
सभापति थापाले शनिबार एक सन्देश जारी गर्दै मध्यपूर्वको बदलिँदो परिस्थितिबारे सुसूचित रहन र सुरक्षा सतर्कता अपनाउन त्यहाँ रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा अनुरोध गर्नुभएको छ। “सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहनुहोला,” उहाँले भन्नुभएको छ।
सभापति थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन आग्रह गर्नुभएको छ। नेपालीको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ। पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका कारण रोजगारी र अन्य सिलसिलामा त्यहाँ रहेका लाखौँ नेपालीको सुरक्षालाई लिएर चौतर्फी चासो बढेको छ।
ओलीद्वारा मध्यपूर्व तनावप्रति चिन्ता व्यक्त
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले संयुक्त अरब इमिरेट्स, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै चिन्ता व्यक्त गर्नु भएको हो ।
केही दिनदेखि चुनावी प्रचारप्रसार घरदैलोमा गृह नगर झापाको दमकमा रहनुभएका ओलीले त्यहाँ रहेका नेपाली दूतावास तथा नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्नुभएको छ ।
“मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ । युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु”, शनिबार अपरान्ह आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले भन्नुभएको छ ।
