टुँडिखेलमा अमेरिकी सेनाको परेड स्वाभाविक : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतिकका रूपमा चित्रण गरेका छन् ।
हिजो सोमवार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले विभिन्न देशका सैनिकहरूबीच हुने तालिम आदानप्रदान र मैत्रीपूर्ण प्रदर्शनलाई नकारात्मक रूपमा हेर्न नहुने बताए । भण्डारीले सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले आफ्नो कला प्रदर्शन गरेको उल्लेख गरे ।
उनकाअनुसार यस्ता प्रदर्शनहरू मित्र शक्तिहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र तालिमको अनुभव साटासाट गर्न विश्वभरि नै हुने गरेका छन् । सामाजिक सञ्जालमा केही व्यक्ति र राजनीतिक दलका नेताहरूले अमेरिकी सैनिकको नाचलाई लिएर सरकारको आलोचना गरेकोप्रति लक्षित गर्दै भण्डारीले यसलाई मानसिकताको उपज भएको बताए ।
विदेशी सेनाको उपस्थितिलाई लिएर ‘खबरदार’ भन्दै गरिएको टिप्पणीहरूतर्फ सङ्केत गर्दै उनले देशका जिम्मेवार व्यक्तिहरूले पनि यस्ता विषयमा नकारात्मक मानसिकता राख्नु दुःखद भएको बताए । उनले कुन देशप्रतिको कस्तो दृष्टिकोण छ भन्ने कुराले मात्र यस्ता विषयलाई विवादित बनाइएको तर्क गरे ।
उनले भने ‘अहिले सामाजिक सञ्जालमा पनि आयो, केही व्यक्तित्वहरूबाट त्यो अमेरिकी सैनिक टुँडिखेलमा नाच्यो नि त भन्ने पनि आयो । अनि के अमेरिकी सैनिक टुँडिखेलमा नाच्नु नै अपराध हो त भन्ने पनि कसैको सोच होला । त्यो अमेरिकी सैनिक त्यहाँ टुँडिखेलमा नाचेको कार्यक्रममा म पनि उपस्थित छु । हिजो सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी सैनिक, बेलायती सैनिक, भारतीय सैनिकको टुकडीहरू, त्यो सैनिकहरूको एकआपसमा जुन जुन मित्र शक्तिहरू हुन्छन् र जुन जुन ठाउँमा चाहिँ उनीहरू तालिम आदानप्रदान गर्छन्, ती शक्तिहरूको त्यहाँ आएर यो प्रदर्शन गर्छन् । यो विश्वभरिको परिपाटी र प्रचलन हो । तर तपार्ईं हाम्रो त्यो कुन देशप्रतिको मानसिकताले अहिले ग्रस्त छ, यो सकारात्मक र नकारात्मक सोच छ । म अहिले त्यहाँ सामाजिक सञ्जाल हेर्दै थिएँ एक,दुई वटा । देशका ठुला नेताहरूले पनि खबरदार, यो त यो सरकारले त बदमासी गर्यो, त्यो अमेरिकी सैनिक ल्याएर टुँडिखेलमा नचायो । त्यसकारण यो नाच्न पाउने होइन, भन्ने लगायतका ठुला ठुला व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा लेखिरहनुभएको छ, कमेन्ट गरिरहनुभएको देखेको छु ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सैन्य कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूलाई बुझेर मात्र धारणा सार्वजनिक गर्न सरोकारवालाहरूलाई आग्रह गरे ।
