सर्लाहीमा गोली प्रहार गरी इन्जिनियरको हत्या
काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार राति गोली प्रहार गरी एक जना इन्जिनियरको हत्या भएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो । सिरहाको सुखिपुर नगरपालिका ६ बैशाखा घर भएका यादवलाई आइतबार राति ८ बजेतिर मलङ्गवा नगरपालिका १० देबीटोलस्थित डेरामा गोली प्रहार भएको हो ।
छातीमा गोली लागेर अचेत भएका यादवलाई प्रादेशिक अस्पताल मलङ्गवा पु-याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले प्रारम्भिक सूचना अनुसार इन्जिनियर यादवलाई फोन गरी डेरा बाहिर बोलाएर गोली प्रहार गरेको भनि सूचना पाएको बताउनुभयो ।
घटना लगत्तै मलङ्गवाको चारै दिशामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर गोली प्रहार गर्ने मानिसको खोजी भइरहेको सिडिओ कडरियाले बताउनुभयो । “फोन गरेर बाहिर बोलाएर गोली हानिएको भन्ने छ, हामी थप बुझ्दै छौँ, सिडिओ कडरियाले गोरखापत्रसँग भन्नुभयो, “नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन भएर गोली प्रहार गर्ने व्यक्ति खोजी गर्दै छौँ ।”
गोली प्रहारपछि इन्जिनियर यादवको हत्या भएपछि नेपाल–भारत सीमा क्षेत्रमा समेत कडाइ गरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मृतक इन्जिनियर यादवको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले गोली प्रहार हुनुको कारण खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताउनुभयो । इन्जिनियर यादव श्रीमतीसहित कोठा भाडामा लिएर मलङ्गवामा बस्दै आउनुभएको थियो । इन्जिनियर यादवकै श्रीमतीले घटनाबारे जानकारी गराएपछि सर्लाही प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कासहितको प्रहरी टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
