एपस्टिन यौन अपराध : विश्वव्यापी रूपमा हंगामा
काठमाडौं । यौन अपराध गरेका अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य दस्तावेजको खुलासाले विश्वव्यापी रूपमा हंगामा मच्चाएको छ। अमेरिकाको न्याय विभागले गत जनवरी ३० मा झन्डै ३० लाख पृष्ठका कागजात जारी गरेयता १० देशका १५ जनाभन्दा बढी वरिष्ठ अधिकारी राजीनामा दिन बाध्य भएका छन् भने ८० जनाभन्दा बढी शक्तिशाली व्यक्ति अनुसन्धानको दायरामा तानिएका छन्।
एपस्टिनसँग सम्बन्धित फाइलमा राजनीकर्मी, राजदूत, अर्बपति र शाही परिवारका सदस्यको नाम छ। इमेल, उडान लग र सम्पर्क रेकर्डमा ७ सयदेखि हजारसम्म प्रभावशाली व्यक्तिको नाम उल्लेख गरिएका छन्। कैयौँ घटनामा नाबालिग किशोरीहरूको यौन शोषण गरिएका कुरा छन्। सार्वजिक कागजातमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टनजस्ता हाई-प्रोफाइलका व्यक्ति पनि विभिन्न सन्दर्भमा देखापरेका छन्।
एपस्टिन प्रकरण खुलासापछि सबैभन्दा हल्लीखल्ली युरोपमा भएको छ। लगभग १० देशमा राजीनामाको लहर सुरु भएको छ।
-सबैभन्दा बढी बेलायतमा तीन अधिकारीले पदबाट हट्नुपरेको छ। तत्कालीन राजदूत पिटर मन्डेलसन, सल्लाहकार एडम पेरी र प्रधानमन्त्री किअर स्टार्मरका चिफ अफ स्टाफ मोर्गन म्याकस्विनीले राजीनामा दिनुपरेको हो।
-स्लोभाकियामा तत्कालीन विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार मिरोस्लाभ लिचकले राजीनामा दिए। ३०० भन्दा बढी इमेल र आपत्तिजनक च्याट सार्वजनिक भएपछि उनी पदबाट बाहिरिनुपरेको हो।
-स्विडेनका वरिष्ठ कूटनीतिज्ञ जोआना रुबिनस्टाइनले राजीनामा दिए। नर्वेली राजदूत मोना जुल, अमेरिकाका श्रममन्त्री एलेक्स अकोस्टा र एमआईटी प्रयोगशाला प्रमुख जोइची इटोले पनि राजीनामा दिए।
राष्ट्रकै लागि लज्जा
एपस्टिन खुलासाले धेरै देशका सरकारहरूलाई कूटनीतिक र राजनीतिक लज्जा नै निम्त्याएको छ।
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले माफी नै माग्न पर्यो भने बेलायती प्रहरीले नयाँ फाइलका आधारमा राजकुमार एन्ड्रयुविरुद्ध ‘नयाँ समीक्षा’ सुरु गरेको छ।
-नर्वेमा राजदूत मोना जुएललाई निलम्बन गरिएको छ भने पूर्वप्रधानमन्त्री थोरबजोर्न जगल्यान्डविरुद्ध भ्रष्टाचार अनुसन्धान सुरु भएको छ। वरिष्ठ कूटनीतिज्ञ तेर्जे रोड-लार्सन पनि अनुसन्धानमा तानिएका छन्।
-फ्रान्सका पूर्वमन्त्री ज्याक लाङविरुद्ध आधिकारिक समन जारी गरिएको छ भने पोल्यान्ड, लाटभिया र टर्कीले मानव बेचबिखनमा आधिकारिक संलग्नताको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छन्।
बिल गेट्सदेखि इजरायलका पूर्वप्रधानमन्त्रीसम्मलाई पश्चाताप
एपस्टिनसँग केही उच्च तहका व्यक्तिको नाम जोडिएपछि उनीहरू र उनीहरूका परिवारलाई सार्वजनिक रूपमा माफी माग्न वा पछुतो व्यक्त गर्न बाध्य बनाएको छ।
-नर्वेकी युवराज्ञी मेट-मारिट पनि एपस्टिनसँग सम्बन्धमा थिइन् भन्ने कुरा खुलासा भएपछि राजशाहीको स्तरबारे संस्थागत समीक्षा नै भयो भने उनले सार्वजनिक रूपमै माफी मागेकी छन्।
-माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले एपस्टिनसँग भएका भेटघाट र संवादप्रति पश्चाताप व्यक्त गर्दै फाउन्डेसनको बोर्डबाट राजीनामा दिए।
-इजरायलका पूर्वप्रधानमन्त्री एहुद बाराकले न्युयोर्कस्थित एपस्टिनको अपार्टमेन्टमा बसेको र भेटघाट गरेको रेकर्डमा देखिएपछि स्पष्टीकरण दिन बाध्य भए।
एपस्टिन दस्तावेजमा ट्रम्पको नाम ३८ हजार स्थानमा!
एपस्टिन फाइलहरूमा ट्रम्पको नाम ३८ हजारभन्दा बढीपटक उल्लेख गरेको पाइएको छ। रेकर्डमा उनले सन् १९९० को दशकमा एपस्टिनको निजी विमानमा सात/आठपटक यात्रा गरेको देखिएको छ।
अनि एपस्टिन ट्रम्पको मार-ए-लागो क्लबमा अतिथि सूचीमा देखिएका छन्।
अनुसन्धानले यौन शोषणको सञ्जाल अमेरिकामा मात्र सीमित नभएको खुलासा गरेको छ।
एपस्टिनले संगठित रूपमै यौना बेचबिखनको सञ्जाल बनाएका थिए। अहिलेसम्म १५ देशका धनी व्यक्ति, राजनीतिकर्मी र अन्तर्राष्ट्रिय हस्तीको नाम खुलासा भएको छ।
अब एपस्टिन कथा मितिमा
१४ वर्षकी बालिकाले गरेकी थिइन् पहिलो उजुरी दर्ता
२००५ : फ्लोरिडाका ३० बालिका/किशोरीबाट पीडा व्यक्त
फ्लोरिडामा १४ वर्षीया बालिकाकी आमाले एपस्टिनले मसाजको नाममा यौन शोषण गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन्। अनुसन्धानका क्रममा ३० जना पीडित नाबालिग खुले।
२००६-०८ : राहत दिने अकोस्टा पछि मन्त्री बने
अमेरिकाको वकिलको कार्यालयले एपस्टिनलाई मुद्दाबाट बचाउने ‘प्लि डिल’ प्रस्ताव गर्यो। जसका कारण उनलाई १३ महिनाको मात्र जेल सजाय तोकियो, त्यो पनि दिनभर बाहिर काम गर्न पाउने गरी। यो सम्झौता अनुमोदन गर्ने अभियोजक एलेक्स अकोस्टा पछि सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालमा श्रम मन्त्री बने।
२००९-१५ : जेलबाट रिहा, नेटवर्क सक्रिय
सम्झौतापछि एपस्टिन सक्रिय रहे। ‘लोलिता एक्सप्रेस’ र निजी टापुसँग सम्बन्धित गतिविधिका प्रमाण बढ्दै गए तर कुनै निर्णायक कारबाही भएन।
२०१७-१८ : मिटु आन्दोलनले मुद्दा पुन: खोल्यो
मिटु आन्दोलनपछि पीडितको बयान र अनुसन्धानले एपस्टिनको प्रभावशाली सम्बन्धलाई उजागर गर्यो।
२०१९ : पक्राउ र जेलमा रहस्यमय मृत्यु
यौन बेचबिखनको आरोपमा एपस्टिनलाई न्युयोर्कमा पुन: पक्राउ गरियो र महानगरीय सुधार कारागारको हिरासतमा राखियो। तर एक महिनापछि जेलभित्रै शंकास्पद परिस्थितिमा उनको मृत्यु भयो। यद्यपि आधिकारिक रूपमा उनले आत्महत्या गरेको भनियो।
२०२०-२६ : हाल अदालतको आदेशबमोजिम फाइलहरू जारी
अमेरिकी अदालतको आदेश र एपस्टिन फाइल्स ट्रान्सपरेन्सी ऐनअन्तर्गत ३० लाख पृष्ठ जारी गरियो र विश्वव्यापी अनुसन्धान सुरु।
