पत्रकारहरूले देश हितमा साँचो र सत्य कुरा बोल्न सक्नुपर्छ : अध्यक्ष बिजुक्छें
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले पत्रकारहरूले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन नहुने बताएका छन् ।
आज भक्तपुरमा आयोजित रफत सञ्चार क्लबको १६ औ वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष बिजुक्छेंले भने, “आज पत्रकारहरूको कार्यक्रममा उपस्थित हुन आउँदा पुराना कुराहरूको याद आयो, म पहिले समीक्षा साप्ताहिकमा आर्थिक विषयमा लेख्दा सम्पादक मदनमणि दीक्षितज्यूले दिएको प्रेरणास्पद क्षणहरू अहिले पनि ताजा रहेको र पत्रकारहरूले संसारका ठूल्ठूला सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिका विषयमा उजागर गर्ने गरेको पाइन्छ । त्यसैले पत्रकार भनेको देश र जनताको पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्दछ ।”












अध्यक्ष बिजुक्छेले आफू पत्रकारिता क्षेत्रमा रहँदा राजनीतिक दलको गतिविधि रिर्पोटिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठीप्रहार सहनु परेको स्मरण सुनाउँदै भने, “ पत्रकारहरूले साँचो कुरा र बोल्न र लेख्न पछि पर्न हुँदैन । यदि यो कर्तव्यप्रति च्यूत भएमा देश र जनताको अहित हुन जान्छ ।”
उनले पत्रकारहरूले इमानदार भएर आफ्नो कर्तव्य पूरा गरेमा हाम्रो समाज उत्साहित हुने र पत्रकारहरूले ठूलो सोचाइ राखेर समाजलाई सुदृढ गर्न सकिने बताए । अध्यक्ष बिजुक्छेले पत्रकारहरू अध्ययनशील भएर अगाडि बढेमा समाजप्रतिको आफ्नो कर्तव्य पूरा हुने उल्लेख गरे । उनले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थितिको प्रकाश पारेर संसारलाई जानकारी गराएको प्रसंग सुनाए ।
कार्यक्रममा वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले रफत सञ्चार क्लबले समग्र भक्तपुर जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको समस्याको पहिचान र त्यसको निदानका लागि निर्वाह गरेको भूमिको प्रशंसा गर्दै भने, “रफत सञ्चार क्लबले भविष्यमा पनि यस्तै रचनात्मक कार्य गर्दै जान सकोस् भनी शुभकामना व्यक्त गर्न चाहन्छु ।”
सो अवसरमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले भक्तपुर जिल्लाका समग्र गतिविधि अन्य क्षेत्रमा प्रचार प्रसार गर्न रफत रञ्चार कलबको योगदान अग्रणी रहेको उल्लेख गरे । उनले अहिले निर्वाचनका समय भएकाले सञ्चारकर्मीहरूले आज मतदाता र उम्मेदवाहरूका बिचमा एउटा सेतुको रूपमा काम गर्न सके निष्पक्ष पत्रकारिताको कडी स्थापना हुने बताए । अध्यक्ष झाले रफत सञ्चार क्लबले भक्तपुरको वास्तविक मुद्दालाई ग्लोकल गर्न आगामी दिनमा सफलता मिलोस् भनी कामना पनि गरे ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रफत सञ्चार क्लबले जनताका हक र अधिकार स्थापना गर्नेमा अगाडि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । उनले क्लबले सदैव जनताको सुसूचित हुने कार्यमा आफ्नो कार्यालयको तर्फबाट हरेक प्रकारको सहयोग जारी रहने बताए । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामजी बोस श्रेष्ठले रफत सञ्चार क्लबको १६ औं मात्र नभएर ५० औं वार्षिकोत्सव मनाउन सकोस् भनी शुभकामना दिए ।
कल्पना स्मृति कोषका सञ्चालकका तर्फबाट वरिष्ठ पत्रकार भरतबन्धु थापाले रफत सञ्चार क्लब स्थापना गर्न बन्धु थापाहरू अगाडि देखिए पनि क्लबको स्थापनार्थ अनेकन् सहृदयी पत्रकार साथीहरूको योगदान रहेको चर्चा गर्दै भने, “ हामीले कल्पना स्मृति स्वास्थ्य सम्मान पुरस्कार मात्र सम्बन्धित क्षेत्रका विज्ञहरूलाई हौशला मिलोस् भनी स्थापना गरेका हौं।”
कार्यक्रममा अध्यक्ष बिजुक्छें र मन्त्री थापाले संयुक्त रूपमा रफत क्रियाशील पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठ र कैलाश खबर डटकमका वरिष्ठ पत्रकार विनोद विश्वकर्मालाई नगद, प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै, ख्वप अस्पतालमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा. मनीष प्रधानांगलाई अध्यक्ष बिजुक्छें र मन्त्री थापाले कल्पना स्मृति पुरस्कारबाट नगद, प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा अध्यक्ष बिजुक्छें र मन्त्री थापाले पर्यटन व्यवसायी द्वय रामसुन्दर बके र रामी अवाललाई उनीहरूले भक्तपुरको पर्यटन विकासमा अतुलनीय योगदान पुर्याएको त्यसको उचित मूल्यांकन गर्दै रफत सञ्चार क्लब मायोको चिनो सममानस्वरूप प्रदान गरेर विशेष सम्मान पनि गरेका थिए ।
यसअघि अध्यक्ष बिजुक्छेंले भक्तपुरको बाराहीस्थानस्थित होटल हेरिटेजमा रफत सञ्चार क्लबको १६ औं वार्षिकोत्सवको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।
