भारत-अमेरिकाबिच महत्त्वपूर्ण व्यापारिक सम्झौता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएसँगै दुई देशबिच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भारतसँग व्यापार सम्झौता भएको घोषणा गर्दै भारतीय सामानमा लगाइँदै आएको कर (ट्यारिफ) २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने बताएका छन्।
यस सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भारतले रुसी तेल खरिद बन्द गर्ने निर्णय लिनु हो। ट्रम्पका अनुसार प्रधानमन्त्री मोदी रुसी तेलको विकल्पमा अमेरिकासँग बढी तेल खरिद गर्न र सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल आयात गर्न सहमत भएका छन्। रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले दिल्लीमाथि लगाएको अतिरिक्त २५ प्रतिशत जरिवाना कर पनि अब हट्नेछ।
मोदीले भने– ट्रम्पलाई धन्यवाद
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत अमेरिकासँग सम्झौता भएकोमा खुशी व्यक्त गरेका छन् । ‘भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद,’ मोदीले एक्समा लेखेका छन्, ‘दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतन्त्रहरू मिलेर काम गर्दा दुवै देशका जनताले फाइदा पाउँछन् ।’
ट्रम्पका अनुसार मोदीसँग भएको फोनवार्तामा व्यापारका साथै रुस–युक्रेन युद्धबारे पनि छलफल भएको थियो । ‘मोदीले रुसबाट तेल खरिद रोक्ने र अमेरिकाबाट धेरै तेल किन्न सहमति जनाएका छन्, सम्भवत: भेनेजुएलाबाट पनि’, ट्रम्पले लेखेका छन् ।
