बलोच विद्रोहीले ८० जना पाक सैनिक मारेको दावी
काठमाडौं । इरान र अफगानिस्तानसँग सीमाना जोडिएको पाकिस्तानको बलुचिस्तानमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकू समूहबीच ४० घन्टा भिडन्त भएको खुलेको छ। शुक्रबार र शनिबार दुई दिनसम्म सुरक्षा बल र लडाकूबीच ४० घन्टा भिडन्त भएको बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्तीले बताएका छन्।
उनका अनुसार भिडन्तमा १४५ जना लडाकू मारिएका छन्। सरकारी सुरक्षा बल र सर्वसाधारण गरी कम्तिमा ५० जना मारिएको पनि उनले बताएका छन्। पाकिस्तानी सुरक्षा बलले छोटो अबधिमा यति ठूलो संख्यामा लडाकू मारिएको यो पछिल्लो केही वर्षयताकै घातक कारबाही रहेको जनाएको छ।
उता बीएलएले ८४ जना सुरक्षाकर्मी मारिएको र १८ जनालाई नियन्त्रणमा लिएको दाबी गरेको छ। क्वेटा शहरमा आक्रमणपछिको अवस्था झल्काउने गरी जलेका सवारीसाधन, गोलीले छेडिएका ढोका र पहेँलो टेपले बन्द गरिएका सडक देखिएका छन्। सुरक्षा व्यवस्था कडा पारिँदा आवागमनसमेत सीमित गरिएको छ। सेनाले कुनै शहर वा रणनीतिक प्रतिष्ठान नियन्त्रणमा लिन खोजिएका प्रयास असफल पारिएको बीएलएले जनाएको छ।
