कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’ समेटिने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताएका हुन् ।

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । ‘घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,’ चालिसेले भने ‘हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन गरिरहेको छ ।’

कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ ।

प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए । ‘जहाँ-जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ’ उनले भने ।

गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ, प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ । कुनै पनि प्रतिपक्षी उम्मेदवारको व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्ने हाम्रो नीति रहेको छ’ प्रवक्ता चालिसे भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर