४ हजार ६३५ मध्ये विशेष महाधिवेशनमा २ हजार ६५२ जना प्रतिनिधि उपस्थिति
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले अधिवेशनका कुल महाअधिवेशन प्रतिनिधि ४ हजार ६३५ मध्ये विशेष महाधिवेशनमा २ हजार ६५२ जना प्रतिनिधि उपस्थिति रहेको बताएको छ ।
गत असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २ हजार ४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न रहेको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका प्रवक्ता देवराज चालिसेले विवरण सार्वजनिक गरेका छन् । दर्तापछि २९ जनाले हस्ताक्षर फिर्ता लिएको पनि उनले जानकारी गराएका छन् ।
‘अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षतले विशेष महाअधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधता मा कुनै प्रभाव पार्दैन । नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक वैधानिक रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनको निर्णयलाई पछिको हस्ताक्षर फिर्ताले रद्द वा प्रभावित गर्न मिल्दैन’, चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
