केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न गगन थापाको निवेदन
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासहितका पदाधिकारी निर्वाचन आयोगमा पुगेर केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएका छन् । गत पुस २७ गतेबाट सुरु भएको कांग्रेसको विशेष महाधिवेशन हिजो बुधबार सम्पन्न भएको थियो ।
आयोगलाई नवनिर्वाचित सभापति थापाले पार्टीको विधानको धारा ४६ बमोजिम गणपूरक संख्या पुगेको र यसरी आयोजना भएको विशेष महाधिवेशन .कांग्रेसको विधानको धारा १५ को व्यवस्थाअनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ भन्ने व्यवस्थाअनुरूप कांग्रेसका जे–जति निर्णयहरु छन्, ती निर्णयभन्दामाथि पार्टीको अधिवेशनको निर्णय हुने बताए । विशेष अधिवेशनले ती सम्पूर्ण अधिकार राख्ने पनि सभापति थापाले दाबी गरे ।
उनले विशेष अधिवेशनले पदाधिकारीसहित केन्द्रीय समिति पनि परिवर्तन गरेको जानकारी गराउँदै भने, ‘विशेष महाधिवेशनको अर्को दायित्व केन्द्रीय कार्यकारी समितिको चयन गर्नुपर्ने दायित्व भएको हुनाले त्यहीअनुरुप केन्द्रीय कार्यसमितिको पनि निर्वाचनको बाटोबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । त्यसैको जानकारी गराउने उद्देश्यले आज हामी यहाँ आएका छौं ।’
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम दलको केन्द्रीय कार्यसमिति परिवर्तनको विवरण अध्यावधिक गरिपाऊँ भन्ने आफूहरुको निवेदन रहेको पनि उनले बताए । ‘पार्टी सभापतिलगायत सिंगो केन्द्रीय कार्यसमिति परिवर्तनको विवराण अद्यावधिक गराउनु हाम्रो कर्तव्य हो । निर्वाचन नजिक आएको हुँदा हामी यो विषयमा संवेदनशील छौं’, थापाले भने ।
सभापति थापाको अध्यक्षतामा घोषणापत्र निर्माण समिति गठन गर्ने निर्णय
यसैबीच आसन्न निर्वाचनमा पार्टीको घोषणापत्र निर्माणका लागि सभापति गगनकुमार थापाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको छ ।दोस्रो विशेष महाधिवेशनपछि गठित केन्द्रीय कार्य समितिको पहिलो बैठकले सभापति गगन थापाको नेतृत्वमा पार्टीको घोषणापत्र निर्माण समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठककले उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । बैठकले विशेष अधिवेशनको निर्णय निर्वाचन आयोगमा अध्यावधिक गराउने निर्णय समेत गरेको छ ।
