कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, वार्ता समिति गठन
काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक मंगलबार बिहान बस्दैछ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।
कांग्रेसको असहमति अन्त्यका लागि पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहले वार्ता समिति बनाएका छन् । पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखक सदस्य छन् । उता विशेष महाधिवेशन पक्षबाट नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सदस्य छन् ।
यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर दुई समूहबीच छलफलको वार्ताको वातावरण बनाउन समिति बनाउने प्रस्ताव गरेका थिए । त्यसलगत्तै देउवालाई उनले यसबारे जानकारी गराएका थिए ।
कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए । तर सभापति शेरबाहदुर देउवासहित संस्थापन समूहले त्यसलाई दबाउन खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए ।
संस्थापनको निष्कर्षः ‘विशेष महाधिवेशन पार्टी विधानविपरीत
संस्थापन पक्षका नेताहरुको छलफलले काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ ।
पार्टी सभापति देउवा निवासमा सोमवार भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरुले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र देखिएको विवाद समाधानको सूत्र कार्यसम्पादन समितिको निर्णय नै भएको उल्लेख गर्दै पार्टी सोहीअनुसार अघि बढ्ने बताए ।
उनले हाल गरिएका कुनै पनि भेला र कार्यक्रमको औचित्य कार्यसम्पादन समितिले नदेखेको उनको जिकिर छ । ‘अहिले पार्टीभित्र देखिएको विवादको समाधानको शुत्र कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय जुन छ त्यही हो । केन्द्रीय कार्यसम्पादन समितिले अहिले गरिएका कुनैपनि भेला र कार्यक्रमको औचित्य देखेको छैन’ उनले भने ।
