देश नबन्ने हो कि भन्ने पूर्वराजा ज्ञानेन्द्रको चिन्ता

काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गी अड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गर्नुभएका शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उहाँले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो ।

यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ । यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई  स्मरण गराउँदछ ।  युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व छ ।

शाहको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यत्तिकै समयसान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिनुभएको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न दलका नेता र राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिनुभएको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार छोडेको एक दशक बितिसक्दापनि राष्ट्रले भोगेको संकट झनै बढेको भनेर चिन्ता व्यक्त गरेका छन् । उनले हिजो देश नबनेकोमा चिन्ता भएपनि अहिले त देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको भनेर चिन्ता व्यक्त गरेका छन् ।

पृथ्वीजयन्तीको अवसरमा आज भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले अब सबै नेपालीले आफ्नो कर्तव्यबोध गरेर पृथ्वीपथमा लाग्नुपर्ने अपिल गरे । उनले राष्ट्रको प्रतिष्ठासँग नेपालीहरुको पनि प्रतिष्ठा जोडिएको हुने स्मरण गराए ।

सम्बोधनको पूर्णपाठ

स्वदेश तथा बिदेशमा रहे बसेका प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

नेपाल राष्ट्रका निर्माता, नेपाली समाजका समन्वयकर्ता एवं एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आम नेपालीका निम्ति श्रद्धा तथा सदा स्मृतिका व्यक्तित्व होइबक्सिन्छ । मौसुफको तीन सय चारऔं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा हामी उहाँलाई नमन गर्दै श्रद्धासुमन अर्पण गर्दछौं ।

जस्तोसुकै शक्तिसंग पनि संघर्ष गरेर राष्ट्र एकिकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सकृय, सबल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ । नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ । बडामहाराजाधिराजको मार्ग निर्देशनको परिधिमा रही, हामीले नेपालीजनको एकता र बृद्धिमा जोड दिंदै आएका थियौं र छौं । तर कालान्तरमा कतैबाट उत्पन्न अवान्छित भ्रमको चपेटामा देश प¥यो । झण्डै दुई दशक अघि शान्ति ल्याउँछौं र आर्थिक प्रगति तर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरुको चाहनाअनुसार हामीले “श्रीपेच र राजदण्ड” जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझाई सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ । यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आमजनतामा नै थियो। नारायणहिटी राजदरवारबाट हामी बाहिरीएको करीब दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको छ ।

बडामहाराजाधिराजबाट बाइस बर्षको युवा अवस्था मै सुरु गरिबक्सेकोे एकिकरणको सफलता पछि आधुनिक नेपाललाई “चारवर्ण, छत्तिस जातको साझा फुलबारी” को रुपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्र होइन जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो । भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि । सबैजात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधीका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरि “पृथ्वी पथ” मा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आव्हान पनि छ । नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन ।

देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविश्यबारे निराशाको संकेत दिइरहेको थियो । अब पुँजी र पुँजीपतिहरु तथा कर्मवीर उद्यमीहरुको समेत पलयान हुन थालेको छ । यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको संघारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौं । बडामहाराजाधिराजबाट स्वदेशको पुँजी पलायनमा रोक लगाउनु पर्ने पक्षलाई महत्वका साथ जोड दिइबक्सि “जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ” भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ ।
जब जब युवापुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिँदैन तब तब असन्तोष पैदा हुन्छ । जसले विद्रोहको रुप पनि लिनसक्छ भन्ने सत्य, नेतृत्वले हृदयगम गर्नै पर्दछ । नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो । जसरी भविश्यका कर्णधारहरुको ज्यान गयो त्यसले सबैलाई स्तब्ध बनाएको छ । युवाहरुमा भ्रष्टाचारप्रति असहिष्णुता र आइटी प्रतिस्पर्धामा अग्रताको जोश देखिनु उज्वल भविश्यको संकेत हुन तर उन्नतिको गन्तव्यमा राजनीति चुक्यो भने अल्छिको सपना मात्र बन्न जान्छ । स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ । राष्ट्रिय सहमति विना निकास खोज्नु समय खेर फाल्नु मात्र हो । सम्मुन्नतिको यात्रामा सबै मिलेर अघि बढौं ।
नेपालको सम्बेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्रराष्ट्रहरुको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौं । असन्तुलित बन्दै गइरहेको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पुगिरहेको समयमा दिव्य उपदेश र बौद्धिक दृष्टिकोणहरूको महत्व अझ बढ्दै गएको छ । कतिपय देशले स्वार्थको लागि कुनै न कुनै सुरक्षा कवज खोज्दछन्, हाम्रो देशको सही छाहरी शान्तीको कवज हुनै पर्दछ । नेपाल निर्माणमा मार्गदर्शी र सेनापति बडामहाराजाधिराजको विरासत र वंशका प्रतिनिधिका रुपमा मेरो भूमिका स्पष्ट रहेको छ ।

पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन । जनताको चाहनाबाट “कजाई” निर्धारित हुनुपर्ने परिकल्पना पृथ्वीपथका मौलिक आकाँक्षा हुन् । अन्त्यमा, जनता र राजाले एकिकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरी उठाउँ । श्री गोरखनाथले हामी सबैलाई सत्बुद्धि दिउन् । जय नेपाल !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर