संंस्थापन अप्ठेरोमा : २८ जिल्लाका अध्यक्ष विशेष महाधिवेशनतर्फ
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि २८ जिल्ला सभापतिहरूले ऐक्यबद्धता जनाएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसमा विशेष महाधिवेशनको आह्वान गरेका थिए । सो महाधिवेशनको अन्तिम तयारी चलिरहेको छ ।
यसैबीच विशेष महाधिवेशनका लागि गठन भएको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदीशनरसिंह केसीले पर्सि आइतबार जुलुस प्रदर्शनका लागि ६ वटा रुट तय गरिएको जानकारी दिएका छन् ।
विशेष महाधिवेशनस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले दिएको जानकारी अनुसार पुस २७ गते आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने छ ।
केसीका अनुसार काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखर र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको केसीले जानकारी दिए ।

