माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार (पुस २५) जानकारी गराइएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराएका हुन् । साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको छ । आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ ।

भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुरक्षा निकाय सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार

 तीन वटै सुरक्षा निकायका अधिकारीहरूले भयरहित र सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शुक्रबार निर्वाचन तयारीबारे सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । समितिको सभाकक्ष सिंहदरबारमा भएको छलफलमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर