राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज बुधबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ। आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि (बिहीबार) उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।
यस्तै, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगले पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ। राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ सदस्य पदका लागि यो निर्वाचन हुन लागेको हो। मतदान आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष मतदाता रहने छन्। आयोगले राष्ट्रिय जनगणना-२०७८ को नतिजाका आधारमा नयाँ मतभार कायम गरी मतदाता नामावली यसअघि नै सार्वजनिक गरिसकेको छ।
