सामाजिक सदभावमाथि खलल पुर्याउनेमाथि कारवाही गर्ने सरकारको चेतावनी
काठमाडौं । सरकारले धार्मिक समुदायबीच हिंसा भड्काउने खालका गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्ने भएको छ ।
सिंहदरवारमा आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले मधेस प्रदेशमा धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने खालका गतिविधि तत्काल नियन्त्रण गर्नका लागि आवश्यक कानूनि कारवाहीलाई अघि बढाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले त्यस्ता खालका गतिविधिमा संलग्न जिल्लाहरुमा धार्मिक सदभाव र सहिष्णुता बढाउनका समन्वयात्मक रुपमा प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई समेत आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लले जानकारी दिए ।
मधेस प्रदेशको वीरगञ्ज, जनकपुरलगायतका जिल्लाहरुमा टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरी धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै हिंसात्मक गतिविधि अघि बढेपछि सरकारले त्यस्ता खालका गतिविधि हुन नदिनका लागि कडाईका साथ निगरानी राख्न पनि स्थानीय प्रशासनलाई सचेत गराएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ । आज वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल गरेका हुन् ।
उनले सामाजिक सद्भावनामा खलल पुर्याउने कुनै पनि खालको गतिविधि नगर्न आह्वान गरे । एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेषभाव सिर्जना गरी राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुठा अफवाह फैलाई समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको उनको भनाइ थियो ।
समाजिक सञ्जालमार्फत गरिने त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ । धनुषाको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका केही व्यक्तिले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारवाहीका लागि दावाव दिन गरिएको प्रदर्शन अहिले रोकिएको र स्थिति सामान्य भइसकेको छ ।
