चिकित्सक संघको निर्वाचन नगर्न/नगराउन अन्तरिम आदेश जारी

काठमाडौं । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हाललाई नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको देखिएपछि उक्त आदेश दिएको हो।

 न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलास (इजलास नं. १३) ले निषेधाज्ञासम्बन्धी मुद्दामा आइतबार अन्तरिम आदेश सुनाएको हो। उक्त मुद्दामा डा. अजयकुमार मिश्र समेतले नेपाल चिकित्सक संघलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए।

निवेदनमाथि सुनुवाइ गर्दै अदालतले नेपाल चिकित्सक संघले मिति २०८२/६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ अन्तर्गतको नियम ६ अनुसार पूरा भएको नदेखिएको ठहर गरेको छ। अन्तिम आदेश नआएसम्म हाललाई यथास्थितिमा निर्वाचन प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने अदालतको निष्कर्ष छ। उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम जारी गरिएको अन्तरिम आदेश अनुसार विपक्षीलाई आदेशको सूचना दिई नियमानुसार पेश गर्न भनिएको छ।

मुद्दाको अर्को पेशी माघ ६ गतेका लागि तोकिएको छ। संघको यसअघिको निर्वाचन तालिकाअनुसार  उपत्यकाबाहिर माघ २ र ३ गते निर्वाचन मिति तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर