ट्रम्पद्वारा मादुरोको तस्बिर सार्वजनिक, भेनेजुएला अमेरिकाले चलाउने

काठमाडौं । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतकडी लगाइएको र आँखामा पट्टी बाँधिएको मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल”ट्रुथ सोसियल” मा सार्वजनिक गरेका हुन् । सार्वजनिक तस्बिरमा ६३ वर्षीय मदुरो ट्र्याक सुट लगाएको र एउटा प्लास्टिकको पानीको बोतल समातिरहेको अवस्थामा देखिएका छन् ।

ट्रम्पले भेनेजुएलामा सत्ताको सुरक्षित हस्तान्तरण नभएसम्म अमेरिकाले नै त्यहाँको शासन व्यवस्था सञ्चालन गर्ने बताएका छन् । साथै, उनले भेनेजुएलाको विशाल कच्चा तेल भण्डार उत्खननका लागि अमेरिकी तेल कम्पनीहरूलाई तत्काल अनुमति दिने घोषणासमेत गरेका छन् ।

न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले यसलाई एउटा ‘शानदार अपरेसन’ को संज्ञा दिएका छन् । पछि ‘फक्स एन्ड फ्रेन्ड्स’ सँगको कुराकानीमा उनले यस कारबाहीमा केही अमेरिकी सैनिक घाइते भए पनि कसैको ज्यान नगएको जानकारी दिए । ट्रम्पले अबको केही समय भेनेजुएलाको शासन प्रशासन अमेरिकाले नै चलाउने स्तब्धकारी घोषणा गरे ।

द न्यूयोर्क टाइम्सका अनुसार, अमेरिकी एयरस्ट्राइकमा परी कम्तीमा ४० जनाको मृत्यु भएको भेनेजुएला सरकारका एक अधिकारीले पुष्टि गरेका छन्। जनवरी ३ मा सुरु भएको यस अपरेसनमा अमेरिकाले भेनेजुएलाको एयर डिफेन्स सिस्टम ध्वस्त पार्न १५० भन्दा बढी सैन्य विमानहरू परिचालन गरेको थियो। स्थानीय समय अनुसार राति २ बजे अमेरिकी विशेष दस्ता हेलिकप्टरमार्फत मादुरोको निवासमा उत्रिएका थिए। करिब २ घण्टा २० मिनेट चलेको यस कारबाहीमा मादुरोलाई हिरासतमा लिइएको थियो।

हिरासतमा लिइएका राष्ट्रपति मादुरोलाई बोकेको विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण भएको छ। दर्जनौँ फेडरल एजेन्टहरूको कडा सुरक्षा घेराबीच मादुरोलाई विमानबाट ओरालिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर