पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश
काठमाडौं । विशेष अदालतले इजलासमै झुटो बयान गरेका पूर्वमन्त्री राजकुमार गुप्तालाई पोखरा लिचीबारीको भ्रष्टाचार मुद्दामा थुनामा पठाउन आदेश दिएको छ । अध्यक्ष सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताविरुद्ध परेको घुस मुद्दामा प्रमाणहरु केलाउँदै उनलाई थुनामा पठाउनुपर्ने भनेको हो ।
विहीबार अदालतमा उपस्थित भएका तत्कालीन मन्त्री गुप्ताले ‘पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बाहेक मुद्दामा मुछिएका अरुलाई चिन्दिनँ’ भनेर बयान गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका बेला घुस लिएको आरोप खेपेका मन्त्री गुप्ताले बयानमा ‘आरोप झुटो हो, मैले घुस लिएको छैन र प्रविधिको दुरुपयोग गरी अडियो रेकर्ड तयार गरिएको हो’ भनी जिकिर गरेका थिए ।
विशेष अदालतले उनको दावीमा भन्दा मुद्दाका अरु प्रमाणहरु विश्वसनीय देखेर त्यसको विवेचना सहित तत्कालका लागि थुनामा पठाउने आदेश गरेको हो । सेवाग्राहीलाई पोखरा लिचीबारीको जग्गा दर्ता गरिदिने आश्वासन दिएका मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको पद थमौती गराइदिने भन्दै मन्त्री गुप्ताले घुस लिएको आरोप छ ।
