निर्वाचनमुखी बन्न प्रधानमन्त्रीको आग्रह, देउवा, ओली र प्रचण्ड सकारात्मक
काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकपछि नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।”
नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन् । उनले निर्वाचनमा सहभागी भई सफल तुल्याउन आग्रह गरिन् । साथै, उनले आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटार आएकोमा तीनै नेताहरूलाई धन्यवाद दिइन् । ‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् ।
‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘सबै यसमा सहभागी हुनुपर्छ । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ ।’
‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौं । अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं,’ नेताहरूसँग प्रधानमन्त्रीको आग्रह थियो, ‘यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।’
