मौसम : तराई भू-भागमा हुस्सु, पहाडमा आंशिक बदली
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
यसैबीच अत्यधिक शितलहर, चिसो हावा, बाक्लो कुहिरो र न्यून तापक्रमका कारण सिरहालगायतका तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो चिसोपनले विशेषगरी विपन्न तथा दलित समुदायका स्थानीय बढी प्रभावित भएका छन् ।
यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले शितलहरबाट प्रभावित स्थानीयलाई राहतस्वरूप दाउरा वितरण गरेको छ । आज सिरहा जिल्लाको गोलबजार नगरपालिका–१० स्थित बुद्धचोक विचला टोल र धोविया धार क्षेत्रमा बसोवास गर्दै आएका दलित मुसहर समुदायलाई १ ट्रक सुकेको दाउरा वितरण गरिएको हो ।
गोलबजार-१० का वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाले विपद्को समयमा नेपाली सेनाले उदाहरणीय काम गरेको बताउनुभयो । शितलहर अझै केही दिन रहने भएकाले स्थानीय तह र सरोकारवाला निकायलाई थप सतर्कता र राहतका कार्यक्रम अघि बढाउनुपर्ने स्थानीयको सुझाव छ।
