बंगलादेशमा हिन्दू युवकको हत्या आरोपमा ७ जना पक्राउ

काठमाडौं ।  बंगलादेशको मैमनसिंह जिल्लामा एक हिन्दू युवकलाई कुटीकुटी हत्या गरेको आरोपमा ७ जनालाई पक्राउ गरिएको छ। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले शनिबार यसबारे जानकारी दिएका हुन्।

भालुका प्रहरी स्टेसनका ड्युटी अफिसर रिपन मियाले बीबीसी बांग्लालाई दिएको जानकारी अनुसार, ती युवकलाई कुटीकुटी हत्या गरेपछि उनको शवलाई एउटा रुखमा बाँधेर आगो लगाइएको थियो। प्रहरीले मृतक युवकको पहिचान २७ वर्षीय दिपु चन्द्र दासको रूपमा गरेको छ।

मोहम्मद युनुसले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘र्यापिड एक्सन बटालियनले मैमनसिंहको भालुका इलाकामा २७ वर्षीय दिपु चन्द्र दासको कुटीकुटी हत्या गरेको घटनामा ७ जना संदिग्धहरूलाई पक्राउ गरेको छ।’

उनका अनुसार पक्राउ पर्नेहरूमा १९ वर्षीय मोहम्मद लिमोन सरकार, १९ वर्षीय मोहम्मद तारिक हुसैन, २० वर्षीय मोहम्मद मानिक मिया, ३९ वर्षीय इरशाद अली, २० वर्षीय निजुम उद्दीन, ३८ वर्षीय आलमगीर हुसैन र ४६ वर्षीय मोहम्मद मिराज हुसैन आकन रहेका छन्।

यसैबीच, बंगलादेशमा पछिल्लो समय हिंसात्मक गतिविधिहरू बढिरहेका छन्। छात्र आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका ‘इन्कलाब मञ्च’ का हादी उस्मानलाई गत साता गोली हानिएको थियो र यसै साताको बिहीबार उनको मृत्यु भयो। उस्मानको मृत्युपछि ढाकामा ठूलो मात्रामा हिंसक विरोध प्रदर्शनहरू भएका छन्। बिहीबार दुई प्रमुख अखबारहरू ‘प्रथम आलो’ र ‘डेली स्टार’ को कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर