एमाले अब सुर र तालमा हिँड्ने ओलीको नवीनतम धारणा
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नीति विधि पद्धतिभन्दा बाहिर नगई पार्टीलाई अघि बढाउने बताएका छन् ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकमा अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ पार्टी विधि, पद्धतिभित्रै रहेर जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गरे । ओलीले एमालेको ११ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताउँदै एमालेको महाधिवेशन हरेक कोणबाट सफल महाधिवेशन भएको दाबीसमेत गरे ।
पार्टीभित्र समयसमयमा केहीकेही समस्या देखिएको बताउँदै उनले आगामी दिनमा त्यस्ता कमजोरीहरू प्रकट नहुन् भन्ने कामना पनि गरे । ‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीतिअनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ’, अध्यक्ष ओलीले भने ।
ओलीले असन्तुष्टि नेतृत्वसमक्ष मौखिक वा लिखत रूपमा पेस गर्न उनले निर्देशन दिए । पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न उनको आग्रह थियो । सामूहिक प्रयास र हितका विरुद्ध मेरो निजी कुरा भनेर चल्न नमिल्ने ओलीले भनाइ छ ।
एमालेका विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उनले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गर्दै ओलीले अब एमालेभित्र कुनै गुट र प्यानल नभएको बताउँदै उनले अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे ।
