बालाजु यातायात कार्यालयबाट पनि लाइसेन्स दिइने
काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा यातायात व्यवस्था कार्यालय, बालाजुबाट पनि हुने भएको छ । नवीकरण र कर सङ्कलन गर्दै आएको कार्यालयले परीक्षा सञ्चालन तयारी थालेको छ ।
परीक्षा सञ्चालन प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख चेतनाथ भट्टराईले जानकारी दिनुभयो । पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने तयारीस्वरूप ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गरिएको छ । उक्त प्रस्ताव पास भएपछि परीक्षा सञ्चालन हुने प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बालाजु कार्यालयलाई लाइसेन्ससम्बन्धी पूर्ण सेवा दिने गरी काम अगाडि बढाइएको छ । ट्रायल सेन्टर छनोट प्रक्रिया अगाडि बढेको छ । अब छिट्टै सेवा सुरु गर्ने योजनामा छौँ ।”कार्यालयले वर्ग ‘क’ र ‘ट’ (मोटरसाइकल, स्कुटर र मोपेड), वर्ग ‘ख’ र ‘च’ (कार, जिप, डेलिभरी भ्यान, मिनिबस र मिनिट्रक) र वर्ग ‘ग’ (ट्रक, बस र लरी) का लागि परीक्षा लिने छ । ट्रायल सेन्टरमा एकै पटक १०० जना परीक्षार्थी सहभागी भई लिखित परीक्षा सञ्चालन गर्न सक्ने हल, दुई र चारपाङ्ग्रे ठुला सवारीको ट्रायल एकै कम्पाउन्डबाट सञ्चालन गरिने भएको छ ।
