शपथपछि कार्की सरकार ढाल्ने ओलीको स्पष्ट चेतावनी
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘ओलीबिनाको एमाले’ बनाउने प्रतिक्रियावादीहरूको चाहना र षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले असफल बनाएको बताएका छन्।
तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ ग्रहणपछि बोल्दै उनले भने, ‘मेरो बारेमा अनेक प्रकारका शक्तिहरू, विभिन्न प्रकारका भ्रम फिजाउने, मनोवैज्ञानिक आतंक र त्रास सिर्जना गर्ने, अनेक प्रकारका जालझेल र षड्यन्त्र भए,’ ओलीले भने, ‘ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले दोस्त पार्नुभएको छ। यस चेतनाका लागि म धन्यवाद भन्न चाहन्छु।’
उनले २२ सय ८७ मतदाता मध्ये २२ सय ६३ मत खस्नु र झन्डै शतप्रतिशत मतदान हुनुले कार्यकर्ताको पार्टीप्रतिको निष्ठा देखिएको बताए। ‘कतिपय मिडियाले थकाई लाग्यो भनेर प्रचार गरे, तर हाम्रा साथीहरू कति जोसका साथ छमछमी नाचेर लाइनमा बस्नुभयो,’ ओलीले भने, ‘दिन गयो, रात ढल्यो तर साथीहरू झन् जोसिएर लाग्नुभयो। म यो उत्साहलाई सलाम भन्न चाहन्छु।’
ओलीले नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र केशव बडालको प्रशंसा गर्दै भने, ‘उहाँहरूले आफूले अब कुनै संगठनको जिम्मेवारी नलिइकन सेवा गर्ने भनेर जुन लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणको नमुना प्रस्तुत गर्नुभएको छ, त्यसका लागि म सिंगो पार्टीका तर्फबाट सम्मान व्यक्त गर्दछु।’
ओलीले वर्तमान अन्तरिम सरकारसँग भिड्न तयार रहेको चेतावनी पनि दिए । उनले भने, ‘एमाले नेतृत्वलाई छोएका दिन देश खत्तम हुन्छ । यदि झूटा मुद्दामा एमाले र नेतृत्वलाई छुने काम भएमा सरकार ढल्छ, हामी ढालिदिन्छौँ। एमालेलाई छोयो भने संसारमै महँगो पर्ने गरी जवाफ दिन तयार छौँ ।फेरि पनि आक्रमणको प्रयास भयो भने प्रतिकार हुन्छ।’
जेन–जीसँग गरिएको सम्झौतालाई उनले षड्यन्त्रको संज्ञा दिँदै यो सरकार संविधान संशोधनका लागि नभई निर्वाचन गराउन बनेको सरकार भएको बताए। ओलीले वर्तमान सरकारले निर्वाचन गराउने अवस्था नरहेको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरे। ‘मलाई विश्वास छ, सम्मानित अदालतले राष्ट्रको जटिलता बुझेर संसद् फर्काउनेछ,’ उनले भने।
