कंग्रेसका रामशरण महतसहित ५५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीनसहित पाँचजना पूर्वसचिवमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले पाँचजना पूर्वमन्त्रीसहित ५५ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार ५ जना पूर्व सचिवलाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादी बनाइएका तत्कालीन सचिवमा सुमनप्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा र सुरेश आचार्य छन् । भ्रष्टाचार मुद्दा लागेका सचिवहरू अवकाशमा गइसकेका छन् । अख्तियारले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिशचन्द्रलाल सुमन र हालका निलम्बित महानिर्देशक प्रदीप अधिकारी (तत्कालीन अवस्थामा प्रोजेक्ट म्यानेजर) लाई प्रतिवादी बनाएको छ ।
विमानस्थल निर्माण गर्दा अनियमितता गरेको भन्दै पूर्वमन्त्री डा. रामशरण महत, स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, दीपक अमात्य र भीम आचार्य लगायतलाई विपक्षी बनाइएको छ । ८ अर्ब ३७ करोड ७३ लाख बिगो दाबी गर्दै मुद्दा पेश भएको विशेष अदालतका सूचना अधिकारी रेग्मीले जानकारी दिए । सहुलियतिपूर्ण चिनियाँ ऋण सहयोगमा बनेको विमानस्थल उद्घाटन भएको तीन वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
