प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकी छन्। आइतबार सिंहदरबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेपछि प्रधानमन्त्रीसँग भेट गरेकी हुन्।
भेटपछि पूर्वराष्ट्रपति भण्डारीले आफूले प्रधानमन्त्रीलाई ‘निर्वाचनको राम्रो तयारी गर्नुस्’ भनेर सुझाव दिएको सञ्चारकर्मीहरूलाई बताइन्। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले दुवैबिचको भेटवार्ता ऐतिहासिक र उपलब्धिमूलक भएको बताए।
मन्त्री खरेलले भने, ‘नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीज्यू र नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबीचको यो भेटघाट ऐतिहासिक हो ।’ उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

