मधेशमा कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने प्रयास
काठमाडौं । सात राजनीतिक दलको बैठकले मुख्यमन्त्रीको नामको टुंगो लगाएको छ। सात दलले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई अघि सार्ने निधो गरेको हो।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज शुक्रबार ५ बजेसम्मका लागि नयाँ सरकार बनाउन समय दिएपछि सात दलको बैठकले मुख्यमन्त्रीको नाम टुंगो लगाएको हो। जसपा नेपालका सरोजकुमार यादवका अनुसार मधेसको मुख्यमन्त्री अब नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव बन्नेछन्। यद्यपि यसको औपचारिक घोषणा भने शुक्रबार गरिने छ।
यादवका अनुसार आज २ बजे प्रदेश प्रमुखसमक्ष सात दलले मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्। सात दलमा कुनै किसिमले विवाद नरहेको र सात दलले सहमतिमै नेतृत्वको टुंगो लगाएको उनको भनाइ छ। मधेस प्रदेशमा सात दलमा ७४ सांसद छन्। सात दलमा नेपाली कांग्रेस‚ जसपा नेपाल‚ नेकपा माओवादी केन्द्र‚ जनमत पार्टी‚ नेकपा एकीकृत समाजवादी‚ नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी छन्।
मधेस प्रदेशमा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोसपाका नौ, एकीकृत समाजवादीका सात, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक-एकजना प्रदेशसभा सदस्य छन्। यीमध्ये एमाले, जसपा नेपाल र लोसपाका एक एक जना प्रदेशसभा सदस्य निलम्बित छन्।
