दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीको नाममा भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भएको आरोप बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले जेनजीको नाममा वाह्य शक्तिहरुले नेपाललाई कब्जामा लिएको आरोप लगाए । उनले नेपालका तीन वटै संस्थालाई कोल्याप्स पारिएको बताए । निर्वाचित प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाएर संविधान विपरीत नयाँ सरकार गठन गरी संसद विघटन गर्न लगाएर व्यवस्थापिका र कार्यपालिकालाई आफ्नो हातमा लिएको र न्यायपालिकालाई जलाएर तहसनहस पारिदिएको बताए ।

उनले यो प्रतिक्रान्तिलाई सच्याउन एमाले लागेको दावी गरे । निर्वाचनबाट वा विघटित संसद् पुनःस्थापना गरेर भएपनि एमालेले प्रतिक्रान्ति सच्याउने उनको भनाइ छ । यद्यपि यो सरकारले घोषणा गरेको मितिमा निर्वाचन नहुने उनको दाबी छ । उनले प्रतिक्रान्ति भएका मुलुकमा बनेका सरकारले घोषणा गरेको मितिमा चुनाव हुन नसकेको धेरै उदाहरणहरु रहेको बताए । विदेशी शक्तिले चाहेको पात्र नभेटेसम्म निर्वाचन नहुने उनले ठोकुवा गरे । हालसम्म वाह्यशक्तिले नेपालमा आफूले चाहेको जस्तो पात्र नभेटेको उनको दावी छ ।

उनीहरुले खडा गरेका पात्रले निर्वाचन जित्ने अवस्था नभएसम्म निर्वाचन सार्न उनीहरुले अनेक प्रपञ्च गर्ने उनले बताए । निर्वाचन नगर्नको लागी नै नेकपा एमालेका नेताहरुलाई स्थानहद तोक्ने काम भएको उनको भनाइ छ । गुरुङले नेपालमा दर्ता नभएका मेटालगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताए । गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गरिएको थियो । तर जेन–जी आन्दोलनका कारण फेरि ती सञ्जालहरु खुला भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर