सिमरा घटना गृहमन्त्री अर्याल दोषी : सुदन गुरुङ
काठमाडौं । जेनजीका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको लाचारीपनका कारण बाराको सिमरा घटना भएको आरोप लगाएका छन् । गुरुङ आज शुक्रबार बाराको सिमरा पुगेर भने, ‘सरकार हाम्रो हो । तर, गृहमन्त्रालय हाम्रो होइन । गृहमन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन । हामी आफैं पनि गृहमन्त्रीको विरोधमा आएका छौं । यो लाचारपन अब सहन सक्दैनौं हामीहरू । हतियारधारीहरू बाटै भरि घुमिरहेका छन् । बोतल उठाएर हाम्रा केटाहरूलाई हानिरहेका छन् ।’
उनले प्रश्न गर्दै भने, ‘हामीले कहिलेसम्म सहनु पर्ने रु हामीले कहिले पार्टीको झण्डा उठाएर हिँडेका छौं र रु हाम्रो लागि पहिलो कुरा देश हो, त्यसपछि मात्रै बाँकी कुरा हो । देश बन्नुपर्छ भनेर हामीहरू चुप लागेर बसेका हौं ।’
यसैबीच बाराको सिमरा घटना साम्य पार्न भएको वार्ता भर्खरै सकिएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा शुक्रबर भएको प्रशासन र जेनजीबीचको वार्ता भर्खरै सकिएको हो ।
वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेहरूको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने जस्ता तीन वटा विषयलाई समेटेर विज्ञप्ति निकाल्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएका छन् । वार्तामा सहभागी जेनजीका अगुवाहरूले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका थिए ।

उनीहरूले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग राखेका छन् । पक्राउ पर्न बाँकी रहेका आरोपितहरूलाई पक्राउ गर्ने दिन नै तोक्नुपर्न माग राखेका थिए । तर प्रजिअ मिश्रले सार्वजनिक रूपमा घुमिरहेका आरोपित व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गर्न आफूबाट निर्देशन भइसकेको भन्दै लुकेको अवस्थामा रहेकाहरूलाई पक्राउ गर्न दिन तोक्न उपयुक्त नहुने बताएका छन् ।
