जिउधन र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न भोलिन्टियर्स फोर्स गठन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेसनल भोलेन्टियर फोर्सले एमालेप्रति विमति राख्नेहरूको पनि सुरक्षा गर्ने बताएका छन् ।
काठमाडौंमा आज शुक्रबार आयोजित नेसनल भोलिन्टियर्स फोर्स गठनको घोषणा समारोहमा उनले भने, “राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले पनि आफ्नो पार्टीले सो फोर्समार्फत देश र जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपरेको हो ।”
उनले भने, “‘यो राष्ट्रिय हितको लागि गठन भएको हो । एमालेप्रति विमति राख्ने अथवा खुदै यो सङ्गठनप्रति असहमति राख्नेहरूको पनि जीउधनको रक्षा गर्ने, उसको अधिकारको रक्षा गर्ने काममा लागि यो गठन भएको हो । त्यसकारण यसको अस्तित्व र विकाससँग यसको मजदुरीसँग कोही पनि आत्तिनु पर्दैन । कोही पनि तर्सिनु पर्दैन । यो देशमा शान्ति सुव्यवस्था कायम गर्नका लागि स्थापना भएको हो । राज्यले मात्रै शान्ति सुरक्षा कायम गर्ने अवस्था हामीले देख्यौँ, भोग्यौँ । राज्यको संयन्त्रले मात्रै राज्यको, जनताको जिउधनको, राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसक्ने भएपछि त्यसको सुरक्षाका लागि यसको स्थापना गरिएको हो ।”
ओलीले यदि चुनाव नै गर्ने हो भने वातावरण बनाएर देखाउन प्रधानमन्त्री सुशीला कार्कीलाई चुनौती दिए। “प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु। तपाईँ अहिले भएका कानुनहरुबाट चुनाव गराउने हो भने खुरुखुरु गराउनुस् न त”, ओलीले भने, “शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता ल्याउनुस्। अपराधीहरुलाई नियन्त्रण गर्नुस्, निर्वाचन योग्य वातावरण बनाउनुस्, म यसको व्याख्या गरिरहन चाहन्न। गराउनुस् न त। तर यो सरकारले नसक्ने र तपाईँको मनशाय पनि देखिदैन ।”
“तपाईँले गरेका वार्ता कस्ता छन्? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको अरे! १२५ वटा पार्टीको कहिले वार्ता”, उनले भने, “यो एमाले, कांग्रेसजस्ता पार्टीहरुलाई अपमान गरेको हो, १२५ वटा पार्टीसँग वार्ता गरेको नाटक गरेर। तमासा गरेर।’ यो तमासा हो, तर हामी त्यो तमासा हेर्न पनि गइरहेका छौँ। आफ्ना कुरा पनि भनिरहेका छौँ।”
उनले भने, ‘देशलाई माया गर्न सिकौँ। म सुशीला जीलाई भन्न चाहन्छु–देशलाई अरु अनिश्चितता तिर, अरु अशान्ति, अरु अराजकता र बर्बादीतिर लैजान नदिऊँ।’ त्यसका लागि प्रतिनिधिसभाको अविलम्ब पुनस्र्थापना गरेर त्यहाँबाट समाधान खोज्नुपर्ने उनले बताए।
