जेन्जी र प्रहरी झडप : दुबैतर्फ १० जना घाइते, प्रजिअद्वारा वार्ता आह्वान
काठमाडौं । आज जिन्जी समूह र प्रहरी समूह बीच भएको झडपमा सुरक्षाकर्मीतर्फ छ जना घाइते भएका छन् भने जेन्जी समूहतर्फ चारजना घाइते भएका छन्।
घाइतेहरूमध्ये जेन्जी समूहका दुईजनालाई थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगंज पठाइएको छ। सिमराको अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले आज १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
यसैबीच बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवाहरूसँग संवादका लागि वार्तामा बस्न आह्वान गरेका छन् । उनले संवादको माध्यमबाट स्थिति समाधान गर्ने विश्वास व्यक्त गर्दै उपाध्यायलाई वार्ता गर्न आह्वान गरेका हुन् ।
जेनजी अगुवा सम्राट उपाध्यायले संवादबाटै समाधान खोज्नुपर्छ भनेर प्रजिअले फोन गरेको बताए । ‘उहाँले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनुभएको थियो, तर हामी त्यहाँ जान सक्ने अवस्था छैन । तपाईंहरू यहाँ आउनुहोस् भनेका छौं’ उनले भने ।
प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएका उनले बताए । प्रदर्शनकारीहरूले भने इलाका प्रहरी कार्यालय सिमरामा वार्ता गर्नुपर्ने अडान राखेका छन् ।

(कर्फ्यु सूचना जारी गर्दै प्रहरी)
