मधेस प्रदेशका सभामुख मण्डलविरुद्ध महाभियोग
काठमाडौं । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ। सभामुख मण्डलले पदीय मर्यादा विपरीत काम गरेको भन्दै सात दलका ६४ जना सांसदले प्रदेश सभामा महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। महाभियोग दर्ता गराउने दलहरूमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेका छन्।
सांसदहरूले सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५ अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्न माग गरेका छन्। प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको निर्देशन बमोजिम पटक पटक सभा संचालन गरेको र विपक्षी दलका उपस्थिती बिना पनि सभा संचालन गरेको लगायतका आरोपहरू उल्लेख गरिएको छ।
केही दिनअघि पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन आह्वान गरेको प्रदेश सभा बैठकमा सोनल लगायत मन्त्रीपरिषदका सांसदहरू उपस्थित नरहेको बावजुद सभामुखले सभा सुचारु गरेका थिए। यसै विवाद बढेपछि निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश सभा बैठकमै राजिनामा घोषना गरेका थिए।
