आयोगको अपिल : १८ वर्ष नपुगेका नागरिकले मतदातामा नाम दर्ता नगर्नू

काठमाडौं ।  निर्वाचन आयोगले १८ वर्ष पूरा नभएका नागरिकलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता नगर्न आग्रह गरेको छ ।

आयोगले मंगलबार जारी गरेको अपिलमा मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने प्रावधान रहेको भन्दै निर्वाचन हुने मितिसम्म १८ वर्ष नपुगेका नागरिकले निर्वाचन सम्पन्न भएपछि मात्र नाम दर्ता गर्न सक्ने स्पष्ट पारेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मात्र आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिदिनुहोला ।’

नाम दर्ताका लागि जिल्लागत रूपमा सेवाग्राहीको अत्यधिक भीड देखिएपछि आयोगले सेवा प्रवाहलाई सहज बनाउन विशेष व्यवस्था गरेको छ । दैनिक ८०० भन्दा बढी दर्ता भइरहेको जिल्लाहरूमा अबदेखि ६/६ घण्टाका २ सिफ्टमा (१२ घण्टा) नाम दर्ता सेवा सञ्चालन गरिने आयोगले जनाएको छ ।

सेवा अवधि बढाउँदा काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइनेछ भने अन्य जिल्लामा सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत थप जनशक्ति परिचालन गर्न गृह मन्त्रालयसँग समन्वय गरिएको आयोगले जनाएको छ । आयोगले सबै नागरिकलाई मतदाता नामावली दर्ता प्रक्रियामा सचेत रूपमा सहभागी हुन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर