मधेश रत्नले सम्मान गर्ने निर्णय सर्वोच्चको अवहेलना
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएपनि मधेस आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मान गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै नवनियुक्त मुख्यमन्त्री यादवको यो पहिलो निर्णय हो ।
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री यादवलाई दीर्घकालिक असर पार्ने कुनैपनि निर्णय नगर्न आदेश दिएको थियो । सर्वोच्च अदालतको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध रकिप्रसाद साहसमेतले दिएको रिट निवेदनका आधारमा न्यायाधीश ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो । प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका रुपमा यही कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त भई यादवले २४ गते बिहानै एक होटलमा मुख्यमन्त्री पदको शपथ लिएपछि मधेश प्रदेशको राजनीति तरंगित भएको छ ।
