देश संवैधानिक ‘सेन्टर पोइन्ट’ मा, नेताहरूको चेतावनी — “लोकतन्त्र घाइते, चुनावबाटै निकास सम्भव””
भक्तपुर । देश अहिले चुनाव र संवैधानिक संकटबीचको सेन्टर पोइन्टमा उभिएको नेताहरूको टिप्पणी छ। एकातिर निर्वाचनको माग चर्किंदै जाँदा अर्कोतर्फ सरकारले असुरक्षा, अनिश्चितता र वैदेशिक दवाबबीच दिशा निर्धारण गर्न नसकेको भन्दै नेताहरूले चेतावनी दिएका छन्।
नेकपा माओवादीका सचिवालय सदस्य डि. पी. ढकालले भने, “देश कता जान्छ भन्ने ठ्याक्कै भन्न सकिने स्थिति छैन। अहिले सरकारले आफ्नै सुरक्षाको चासोमा ध्यान दिएको छ, जनताको सार्वभौम सत्ता र निर्वाचनको अर्थ बुझ्न सकेको छैन।”

उनका अनुसार संविधान र शान्ति प्रक्रियामाथि ‘अनिश्चयको पागल’ आएको छ र लोकतन्त्र अहिले घाइते अवस्थामा पुगेको छ। “१४ हजारभन्दा बढी नागरिकको बलिदानबाट आएको गणतन्त्रमाथि प्रश्न उठ्नु गम्भीर हो। लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो, अधिनायकवाद होइन,” ढकालले जोड दिए। यिनै विषयहरूमा केन्द्रित भएर भएको रफत सञ्चार क्लबद्वारा भक्रपुरमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा अन्य वक्ताहरूले पनि वर्तमान राजनीतिक अनिश्चितता र सुशासनका चुनौतीबारे आफ्ना धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भने, “राष्ट्रपतिको कार्यालय छैन, प्रधानमन्त्रीको छैन, सर्वोच्च र संसद्को समेत स्थिति असुरक्षित छ। सुशासनका लागि जनता सहभागितासहितको बलियो अर्थतन्त्र जरुरी छ, तर नेताहरूले जिम्मेवारी लिएका छैनन्।” उनका अनुसार वैदेशिक सम्बन्धमा पनि असन्तुलन देखिएको छ र छिमेकी राष्ट्रहरू असन्तुष्ट भइरहेका छन्।
त्यस्तै, पूर्वसामान्य प्रशासन तथा संघीय मामिला मन्त्री एवम् नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपानेले भनिन्, “गणतन्त्र ल्याउनका लागि कुर्वानी दिनेहरूले नै अहिले संवेदनशीलता हराएका छन्। युवामा निराशा छ, दलहरू आरोप–प्रत्यारोपमा अल्झिएका छन्। हामीले जनतालाई विकासको वास्तविक तथ्य बताउन सकेनौं।”

उनले हालको राजनीतिक अस्थिरता, जेन्जी आन्दोलन र विदेशी हस्तक्षेपका घटनालाई देशभक्तिपूर्ण दृष्टिकोणले मूल्यांकन गर्नुपर्ने बताइन्। न्यौपानेका अनुसार, “संविधानबाट विचलित नहुनु नै अहिलेको प्रमुख आवश्यकता हो। संसद् पुनःस्थापना वा निर्वाचन — नागरिकको निर्णयलाई सम्मान गर्नैपर्छ”, उनले भनिन्। तीनै नेताहरूको एउटै निष्कर्ष थियो — देशलाई अस्थिरता र अनिश्चितताबाट निकाल्ने मार्ग समयमै, स्वतन्त्र र निष्पक्ष निर्वाचन नै हो।
