मोन्था आँधीको प्रभाव कमजोर बन्दै, मौसममा क्रमिक सुधार
काठमाडौं । बंगालको खाडीबाट उठेको ‘मोन्था आँधी’ का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ। तर, केही स्थानमा वर्षाको सम्भावना कायमै छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।
