भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू

काठमाडौं ।  सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । अध्यागमन विभागले शुक्रवार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागू गरेको हो ।

विभागका अनुसार २०८० माघ १० देखि लागू भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागू गर्ने निर्णय भएको हो ।विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न अनुरोध गरेको छ ।

कम्तीमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने तिवारीले बताए ।

यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ ।

उनले नेपाली नागरिक विदेश गएको कुरामा मात्रै नेपालको ध्यान केन्द्रित भएको तर विदेशबाट आउने नागरिकलाई नेपाल घुम्न सक्छौ की सक्दैनौँ भनेर सोध्ने सामर्थ्य नेपालसँग नरहेको बताए । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाएर जानुपर्ने अवस्था रहेको बताए । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘हामीले को नेपाली नागरिक बाहिर जान्छ भन्नेमा मात्रै ध्यान केन्द्रित गरेका छौँ । त्यो नेपाली नागरिकलाई खुइल्याउन हामी पनि पारख भयौँ । विदेशीहरू एउटा भिसा लिएर आएकालाई नेपाल घुम्न सक्छस् की सक्दैनस् भनेर सोध्ने सामर्थ्य हाम्रो छैन । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाउनुपर्छ । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्नुपर्छ । ’ उनले वैश्विक आवागमनका चुनौती र अवसरबारे अध्ययन जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर