फोहोर बोकेका गाडी अलपत्र, बालेनको सर्वत्र आलोचना
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन पुनः समस्या उत्पन्न भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर बोकेका गाडीहरू रोकेपछि समस्या खडा भएको हो ।
स्थानीयले काठमाडौं महानगरपालिकासँग भएको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आज बिहानैदेखि फोहोर बोकेका गाडीहरूलाई बाटोमै रोकिदिएका छन्। अवरोधका कारण काठमाडौंमा फोहोर उठाउने काम ठप्प भएको छ।
महानगरपालिकाले विज्ञप्ति जारी गर्दै नागरिकलाई असुविधा नहोस् भनेर केही दिन फोहोर घरभित्रै राख्न अनुरोध गरेको छ। काठमाडौंवासीलाई फोहोर घर कम्पाउन्डमै राख्ने सूचना जजारी गरेर मेयर साह किंकर्तव्यविमूढ भएको भन्दै सर्वत्र आलोचन गरिएको छ । २०७९ जेठ २६ गते स्थानीय र काठमाडौं महानगरबीच भएको सहमति अनुसार फोहोर विसर्जन रातिको समयमा मात्रै गर्ने, दुर्गन्ध रोक्ने, लिच्चड नचुहाउने र वैज्ञानिक व्यवस्थापन सुनिश्चित गर्ने प्रावधान समावेश गरिएको थियो। तर स्थानीयका अनुसार ती मध्ये धेरै बुँदा अझै कार्यान्वयनमा आएका छैनन्।
यसैबीच, स्थानीयले आफ्ना माग सम्बोधन र सहमति कार्यान्वयनको स्पष्ट प्रतिबद्धता जनाउन काठमाडौं महानगरका मेयर बालेन साह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई फिल्डमै उपस्थित हुनुपर्ने माग गरेका छन्। उनीहरूले वार्ता प्रक्रिया पनि सार्वजनिक रुपमा लाइभ गर्नुपर्ने अडान लिएका छन्।
