मध्यम वर्षापछि आज राति भारी वर्षा हुने सम्भावना
काठमाडौं । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भने, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”
उनले आज दिनभरी बागमती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताए । उनले गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको जानकारी दिए । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।
हिजो बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसम बारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ ।
त्यसैगरी धान काट्ने समय रहेकाले काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर मात्रै काट्न सुझाव दिएका छन् । भारी वर्षाको सम्भावना भएकाले धान काटिहाल्ने अवस्था नरहेको मौसमविद्को सुझाव छ ।
